३३ महिनामा नगरवासीले नसोचेको विकास भएको छ : नगर प्रमुख थापा
प्रकाशित मिति
२०७६ फाल्गुन २२ गते, बिहीबार ११:३५
कागेश्वरी मनोहरा नगरपालिका रु १ अर्ब ५७ करोड १८ लाख बजेटमध्य ३५ करोड मात्र खर्च
घरधुरी जनगणना सर्वेक्षण २०७५ अन्तरगत कागेश्वरी मनोहरा नगरपालिकाका २६ हजार १६६ घरधुरीमा ५२ हजार ४१२ जना पुरुष, ४९ हजार ६३९ जना महिला र ५ जना तेस्रो लिङ्गी गरी १ लाख २ हजार १३१ जनसंख्या रहेको छ । २८.८० वर्ग कि.मि क्षेत्रफल रहेको नगरपालिकामा ८५.२१ प्रतिशत साक्षर दर रहेको छ । ५ वर्षको अवधिको कार्यकालमा ३३ महिना बितिसक्दा नगरपालिकाको उपलब्धिका विषयमा नगर प्रमुख कृष्णहरी थापासँग गरिएको कुराकानी:

कागेश्वरी मनोहरा नगरपालिकाका मुख्य योजना केके हुन् ?
हामीले पहिलो र दोस्रो नगरसभा सम्पन्न गरेर तेस्रो नगरसभाको काममा नियमित लागिरहेका छौँ । कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय सरकार भएपछि मिथिक प्रणाली सेन्सस अन्तरगत घरधुरीको जनगणना गरेर घर नम्बर राख्ने काम सम्पन्न गरेका छौँ ।

संघिय सरकारकोे एकिकृत शहरी विकास आयोजना अन्तरगत कागेश्वरी मनोहरा नगरपालिकाको गुरुयोजना तयार बनाउदै छौँ । त्यस अन्तरगत रु ३६ करोडको बसपार्क, रु४६ करोडको सडक, तरकारी बजार गरी रु१ अरब ६ करोड बराबरको ३ वटा प्रोजेक्ट ए.डी.पी फन्डिङ अन्तरगत शहरी विकास मन्त्रालयले गराउदैं छ । नगरपालिकाको भुगोल ,नीती अनुसार आयोजनाको काम सकिने क्रममा रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा केके काम सम्पन्न भएको छ ?
हामीले विशेष शिक्षा, स्वास्थ्य, पशु, कृषी क्षेत्रको विकासका काम गर्दैछौँ । शिक्षाको क्षेत्रमा कुरा गर्दा कागेश्वरी नगरपालिकामा ७६ वटा विद्यालय मध्य १६ वटा सामुदायिक विद्यालय र ६० वटा संस्थागत विद्यालयहरु छन् । हामीले १६ वटा विद्यालयलाई उपसमिति मार्फत अध्ययनको प्रतिफल अनुरुप अहिले काम गर्न लागि परेका छौँ । कागेश्वरी नगरपालिकाको इ.सि.ए काठमाडौं नगरपालिका भित्र राम्रो रहेको छ ।
सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालयको सुविधा दिएर विकास गर्ने हेतुले हामीले यो वर्ष ३ वटा विद्यालयलाई यातायातको सुविधाको लागि बस दिएका थियौ । वडा १ मा रहेको सिद्धिविनायक विद्यालयलाई रु २५ लाख बराबरको बस हस्तान्तरण गरेको छौँ । त्यसैगरी रु ९९ करोड बराबरको बजेटमा श्री आदर्श नमुना विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि कोसिस गरेका छौँ । यही आर्थिक वर्षमा संघिय सरकारका मापदण्ड अनुसार इ.सि.ए देखि कक्षा ५ सम्म दिवा खाजा खर्चको रुपमा दैनिक प्रति बिद्यार्थी २० रुपयाँ दिने योजना लागु गरेका छौँ । विद्यालयका लागि डेढ करोड बजेट बिनियोजन गरेका छौँ । नेपाल सरकारको योजना अनुसार विद्यालयमा शिक्षकहरु दरबन्दी मिलाउनमा हामीले ४ जना शिक्षकलाई छनौट गरेर पठाइसकेका छौ । नेपाल सरकारले दिएको १० जनामा अझै अपुग छ । अर्को वर्ष १० जना शिक्षक माग गरेर पठाउने योजना रहेको छ ।
त्यसैगरी स्वास्थ्यको क्षेत्रमा कागेश्वरी नगरपालिका ६ वटा गाउँ विकास समिति मिलेर बनेको हो । ९ वटा प्रशासनिक वडामा विभाजन भएर काम भइरहेको छ । हामीले ९ वटा वडा मै स्वास्थ्य केन्द्र उपलब्ध गरएका छौँ । हामीले ३ वटा वडा ४,७,८ मा शहरी स्वास्थ्य केन्द्र भनेर खोलेका छौँ । एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ जसलाई अस्पतालमा परिणत गर्दैछौँ । बाँकी रहेको ५ वटा वडामा पनि स्वास्थ्य केन्द्र खोलिसकेका छौँ । सबै संचालनमा रहेका छन् । हामीले वडा २ र ५ मा ल्याबको सुविधा सहित बर्थिङ सेन्टर चलाउदै आएका छौँ भने वडा ९ मा १ करोड ६४ लाखको लागतमा रहेको ब्रिट्सि एडको भवनमा बर्थिङ सेन्टर सहित चलाउने योजना बनाएको छौँ । जिल्ला जनस्वास्थ्यको लगानीमा ५ करोड बराबरको लगानीमा भवन निर्माण गरेर मुलपानी नगर अस्पतालको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेड राखेर बैशाखसम्म संचालनमा ल्याउन तयारी गर्दैछौ ।
पशु शाखामा पनि काम भइरहेको छ सँगै कृषि क्षेत्रमा मलबियु वितरण गर्ने काम गरिराखेको छौँ । आवासीयमा राख्दा २५ रुपैया छ भने कृषिमा १० वर्षसम्म जग्गा राख्दा मालपोतमा रु १ रुपैया मात्र दिनेछ । यो योजना अन्तरगत कृषकलाई प्रोत्साहन गरिराखेका छौँ । बोरिङ र सिंचाइ गर्ने काम पनि गरेका छौँ ।
पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासका तत्कालिन गतिविधि केके छन् ?
हालसालै, हामीले मेयर स्वास्थ्य घरदैलो भनेर सिविर सुरु गर्दैछौ । हाम्रा ११८ जना स्वयमसेवक प्रत्येक घरमा पुगेर सदस्यको बिरामीको तथ्याङ्ग संकलन गरेर बिरामीको उपचारका लागि विभिन्न शिबिर संचालन गर्ने तयारी भइसकेको छ ।
त्यसैगरी, हामीले कागेश्वरी मनोहरा नगरपालिकालाई माघ ३ गते साक्षर नगर घोषणा गरिसकेको अबस्था छ । पुर्णरुपले साक्षर गर्नको लागि शिक्षा शाखाले थप कक्षा संचालन गर्ने काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकाबाट पहिला चाँगुनारायण नगरपालिका साक्षर घोषणा भएको थियो भने हाम्रो नगरपालिका दोस्रो स्थानमा घोषणा भएको हो ।
हामीले २०७३।७४।७५ सालको इ.सि.ए सम्मान गर्यौ । हामीले पहिलो नगरसभाबाट पास गरे अनुसार सामुदायिक विद्यालय र निजी विद्यालयमा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई १ लाख रुपैयाँ र विद्यालयलाई २ लाख पुरस्कृत गर्ने । विद्यालयले भौतिक पूर्वाधारमा खर्च गर्नपर्यो भने विद्यार्थीले स्वइच्छा खर्च गर्न पाउने नियम राखेका थियौँ । हाम्रो कार्यकालमा ११ जना विद्यार्थीलाई बाडेका छौँ । यो योजना अन्तरगत विद्यार्थीलाई पढ्नको लागि प्रोत्साहन मिलेको छ ।
“हामी निजी विद्यालयमा स्थलगत अध्ययन गर्नका निम्ति चाडै जादैछौँ । विद्यालयका कक्षा कोठा, खेलमैदान,शौचालय,शिक्षकको सुविधाको बारेमा निरिक्षण गरेर नगरपालिकाले शिक्षा शाखा अन्तरगत विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ तीनवटा क्याटागोरीको वर्गिकरण गरेर यस अनुसार विद्यालयको शुल्क निर्धारण गर्नेछौँ ।”
कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ महानगरपालिकासँग जोडिएको नगरपालिका पनि हो । यो तीब्रगतिमा शहरीकरण बढ्दो भएको हुँदा हामीले प्रदेश सरकारसँग जडिबुटी देखि जोरपाटी पूर्वसम्म विकास गर्ने योजना राखेका छौँ । हामी तीनवटा नगरपालिका मिलेर २६ हजार रोपनी जग्गामा व्यवस्थित वस्ती बसाउने योजनाले अध्ययन गरेका थियौ । कागेश्वरी नगरपालिका १ देखि ४ वडा, गोकर्णेश्वर नगरपालिकाको १,२,४ वडा र सिंखडाको १ वडा गरेर ९ वटा वडामा पास गरि सकेका छौँ । त्यसमा व्यबस्थित बस्ती बनाउने योजनामा लागेका छौँ ।
संघिय सरकारले नयाँ शहर बनाउने भनेर ५ वटा नगरपालिकामा पर्ने गरि १ लाख रोपनीको जग्गा रोक्का गरेको थियो भने अहिले ५४ हजार रोपनीमा गर्नसक्ने परिकल्पना गरेर स्थानीय सरकारले मुख्य बाटोको काममा धेरै प्रगति गरिसकेको हुनाले खानेपानीमा जोड दिनुपर्छ भनेर लागेको छौँ ।
अब दोस्रो चरणमा हाम्रो नगरपालिकाले खानेपानीलाई हेरेको छौँ । यहाँ १४ वटा खानेपानी आयोजनालाई व्यवस्थित गर्ने योजना रहेको छ । साना लगानी, सह लगानी, फण्ड बोर्ड लगायतबाट खानेपानी व्यवस्थित गर्नुपर्ने र शुद्ध खानेपानी खुवाउनु पर्ने भनेर लागेको छौँ । धेरै ठाउँमा बोरिङको पानी खानु भएको छ ।
पहिलो चरणमा कागेश्वरी नगरपालिकामा मेलम्चीको आयोजना नपरेर दोस्रो चरणमा परेको तर पहिलो चरणको काम नै अधुरो रहेको एङरी र लार्की आइसकेपछि यहाँ खाने पानी आउन समय लाग्छ भनेर काडाँघारी खानेपानी ६ लाख १७ हजार लिटरको ट्याङ्की बनाइसकेको, डाँछी खानेपानीमा ५० लाख बराबर रकमको दुइवटा ट्याङ्की बनाएका छौँ । त्यसलाई पाइपलाइन सुधार गर्ने , डिपिआर तयार गरेर नयाँ संरचनामा लाने तयारी गरेका छौँ । गोठाटार भैमाल खानेपानी सहलगानीमा गएको छ । यसको डिपिआर गरिसकेपछि सरकारले १ करोडमा संघिय सरकारले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत लागानी गर्ने भएको छ ।
डाँछी भद्रवास खानेपानीलाई पनि साना शहरी खानेपानीमा पारेका छौ । मुलपानी काडाँघारी खानेपानी साना शहरी लगानी (एडीबी फण्डींग) अनुसार ७० प्रतिशत संघिय सरकारले २५ प्रतिशत ऋणमा ५ प्रतिशत उपभोक्ता समितिले लगानी गर्ने भएको छ । हामीले नगरकोटको अध्यक्षतामा खानेपानी बोर्ड गठन गर्नेमा लागिपरेका छौँ ।
कागेश्वरी मनोहरा नगरपालिकाको बजेट कति रहेको थियो ?
यो वर्ष २०७६।७७ सालको बजेटको रु १ अर्ब ५७ करोड १८ लाख रहेकोमा हामीले अहिले ३५ करोड मात्र खर्च गर्न सकेका छौँ ६४ करोड खर्च गर्न बाँकी रहेको छ । १ अरब आम्दानी भइसकेको छ । चालु पुंजीबाट ४० र विकासबाट १६ पोइन्ट मात्र खर्च भएकोे छ ।
हामीले बजेट अनुसार रकम खर्च गर्न नसकेको पनि होइन । हाम्रो दायित्व बढि रहेको छ । गतवर्ष पनि हाम्रो २६ करोड क्याबिनेट फर्वार्ड भएको थियो भने ४१ करोडको दायित्व रह्यो । त्यसकारण निर्माण व्यवसायीहरुले समयमा काम नगरेको हुनाले आर्थिक नियम अनुसार पेमेन्ट पनि ढिलो हुने भयो ।
खरिद प्रक्रियाको संसद भनेको छौँ । निर्माण व्यवसायीले २ वर्षमा एकपटक मात्र भयो भने १ वर्ष थपिन्छ तर थप्न नपाउने भनेको छ । अब केही सुधार हुन्छ भने ठिकै छ अहिलेको इ–बिडिंग (टेन्डर) को लागि १५ दिन मात्र समय राख्न सुधार गर्नपर्ने स्थिति छ । अनलाइन टेन्डर भएता पनि अपलोड गरेर प्रोसेसमा जाँदा यसले बढी समय लिएको छ ।
मनोहरा नगरपालिकाको थली चोकको बाटो हालसम्म गा्रबेलको काम पनि सुरु नगरिएको देखिन्छ नि ?
यो चाबहिल साँखु सडक हो । हामी निर्वाचित भएर आउनु भन्दा अगाडी ठेक्का सम्झौता भएको हो । यो २ वर्षमा काम सम्पन्न गर्ने ठेक्का सम्झौता अनुरुप थियो । काठमाडौँ उपत्यका प्राधिकरणले यो साइड क्रिलियर गर्नपर्ने थियो । सेन्टरबाट २२ मिटरको बाटो घर खाली भएको ठाउँमा बाटो बनिसकेको अबस्था रहेको छ । यो काम स्थानीय सरकारको दायित्व होइन । सडक विस्तार आयोजनाले बाटोको ठेक्का लगाएको । संघिय सरकारले सिन्धुपाल्चोक जाने महत्वपुर्ण बाटो भएको कारणले जिल्लास्तरीय बाटो हो । यो बाटो १२ कि.मि ४ जना निर्माण व्यवसायीलाई ३ कि.मि गरि बाँडेको हो ।
यसलाई विस्तार गर्ने क्रममा विजुलीको तार, खम्बा, ढल सार्नलाई केही अधिक समय लागेको हो । सर्वोच्च अदालतमा मुआब्जा जग्गाको संघिय सरकारले नदिएको, केही ठाउँमा विरोध भएको कारणले पनि बनाउन नसकेको । उहाँहरुले पहिले मुआब्जा लिएर मात्र काम गर्नदिने तर हामीले काम भएपछि मात्र मुआब्जा दिने कुरामा नमिलेको । कागेश्वरी नगरपालिकामा भने ७० प्रतिशत बाटोको काम सम्पन्न भएको छ ।
कहिलेसम्म यो स्थिति रहने सम्भावना रहेको छ ?
संघिय सरकारको सडक विभागले यो वर्ष नै यसलाई टुङ्ग्याउने निर्णय गरेको छ । कि ठेक्का तोड्छ कि काम गरेर बाटो बनाइसक्छ । यदि ठेक्का तोड्यो भने स्थानीय सरकारको दायित्वमा आउछ । हामीले अहिले कुनै पनि ठेक्का लागेको काममा आर्थिक नियमले काम गर्न पाइँदैन । यसमा ताकेता लागिरहेको छ । हामीले मन्त्रालय मार्फत मुआब्जा दिनु भनेर पत्र लेखिसकेको छौ । यो अब राष्ट्रिय समस्या भइसकेको छ । भक्तपुरबाट नगरकोट जाने बाटो, दक्षिणकाली बाटो, सडक विभागबाट गर्नपर्ने सबै बाटो बाँकी रहेकोे छ ।
संघिय सरकारले एउटा निर्णय गर्न पर्यो । सर्वोच्च अदालतले दिनसक्ने दिनपर्यो । व्यक्तिगत जग्गामा जग्गाधनीको हक भएको कारण हामीले पनि केही गर्न सक्दैनौ । त्यो कारणले पनि बाटो अलमल भएको हो ।
मनोहरा नगरपालिकालाई काम गर्ने क्रममा केके चुनौति रहेको छ ?
स्थानीय सरकार भइसकेपछि धेरै काम गर्न सकिन्छ र गर्दै पनि छौँ । तर अलिकति काम गर्न ढिलाइ भएको छ । निर्माण व्यवसायी, २ करोड भन्दा माथिको टेण्डरको लागि ३५ दिन कुर्न पर्ने, टेक्निकल अपलोड गरेपछि फाइनानसियल गर्न ३ महिना लाग्ने भएपछि स्थानीय तहलाई काम गर्न गाह्रो पनि छ । हामीलाई मात्र नभएर यो राष्ट्रिय स्तरको समस्या बनेको छ । दोस्रोमा कर्मचारी समायोजन भयो । वडा १ देखि ९ सम्म सरोबर रुपमा विकास गरेको छौँ ।
पहिला स्थानीयमा बजेट थिएन । अहिलेको राम्रो पाटो भनेको स्थानीय तहको कर यहाँको विकासका लागि खर्च हुन्छ । आन्तरिक कर रु १६ करोड प्रक्षेपण गर्यौ । बजेटबाट प्राथमिकताका साथ पुल, भवनहरु विकास हुन्छ । हाम्रो नगरपालिकाले रु ६० करोड लाग्ने भवन बनाउदै छौँ । नक्सा पास भएर टेण्डर निकाल्दै छौँ । ३३ महिनामा हामीले र नगरवासीले नसोचेको विकास भएको छ । गोठाटार नगर उन्मुख गाविस थियो । बाटो, ढल, नालीको समस्या, त्यसैले चुनौतिहरु त छन् ।
संघिय सरकार र प्रदेश सरकारबाट के मद्दत पुगेको छ ?
प्रत्यक्ष जनतासँग सरोकार राख्ने नगरपालिका नै हो । बाग्मती प्रदेशमा १३ वटा जिल्ला नगरपालिका पर्छन् । यहाँको ठुला गुरुयोजना बनाउने र नेसनल पोलिसी योजना अन्तरगतको काम उहाँहरुले गर्नुपर्छ । हेटौडा काठमाडौको सुरुङ मार्गको काम संघिय सरकारले गर्न पर्यो । नेपालको टोटल राजस्व संघियमा जान्छ भने ३० प्रतिशत हामी कहाँ आउछ । ३० मध्य १५ प्रतिशत ७५३ सरकारलाई जान्छ । १५ प्रतिशत सातवटा प्रदेशमा जान्छ । त्यसकारण बजेट मात्र बढाउने होइन टेक्निकल क्षेत्रमा हामीलाई सहयोग हुनपर्छ । यदि संघिय सरकारले टेक्निकल कामहरुको लागि हामीलाई अधिकार दियो भने स्थानीय सरकारले चाँडो समस्याको समाधान गर्नसक्छ । स्थानीय सरकारलाई यहाँको समस्या तुरुन्त थाहा हुने भएकोले निर्णय गर्ने अधिकार भएकोले काम गर्न सजिलो भएको छ । संघिय संरचनामा आइसकेपछि स्थानीय तहमा अनियमितता बढेको सुनिन्छ।
मनोहरा नगरपालिकाको स्थिति कस्तो रहेको छ ?
हालमा आएर अख्तियारले नगरपालिकालाई अनियमितता गरिरहेको अबस्थामा समातेको पनि छ । बदमासी नै नभएको भन्न सक्दिन तर यो स्थानीय तहलाई फलप गराउनको लागि पनि यस्तो भएको हुनसक्छ ।
विभिन्न कुरामा धेरै कर लगायो भन्ने कुरा गलत हो । हामी ५ वर्ष पछाडी फेरी जनतामा जान पर्छ । हामीलाई संबिधानले अधिकार दिएको वस्तुमा मात्र कर उठाउछौ । नगरपालिकाले उठाएको कर नगरवासीको विकासका निम्ति स्रोत बनाउने काम गरेको हो ।
निर्वाचित जनप्रतिनिधिमा चेक नचल्ने भएकोले नेपाल सरकारको सचिवको पदमा बसेर ३० वर्ष काम गरेको व्यक्तिले हिनामिना गर्ने कुरा आउँदैन । लेखाले अडिट गरेपछि अहिले महालेखाबाट नै खटिएर आउनु भएको हुन्छ । कसैले बदमासी गर्यो भने असुली बेरुजु हुन्छ यस मार्फत रकम तिर्नै पर्ने हुन्छ ।
हामी कहाँ एकपटक गल्तीले मात्र उपभोक्ता समिति मार्फत ७ लाखको बेरुजु उठेको छ । हाम्रो नगरपालिकामा अहिलेसम्म रकम हिनामिना भएका काम भएको छैन ।
असार मसान्त सम्ममा के-के काम सकिने छ ?
नगरपालिकाले गर्ने बिकास लगायतका कामहरु नियमित रुपमा भैरहेका छन् ।रु ३६ करोडको लगानीमा टेण्डर लगाएका छौँ । सबै रकम नील हुदैन । स्थानीय तहमा राम्रो के नियम रहेको छ भने संघिय सरकारले पठाएको सशक्त अनुदान बाहेक केही पनि फिर्ता हुदैन । बाँकी रहेको रकम संचित खातामा गएर फेरी हाम्रो खातामा आउँछ ।
गत वर्षको २६ करोड हामीले फेरी काम गर्न पायौ । यो साथै अगामी बजेट पनि पाउँछौ । हामीले प्रत्येक वडामा १५ करोड बजेट दिन्छौ । हरेक वडामा एक करोड गरेर ९ करोड भयो । बाँकी रहेको ६ करोड त्यहाँको जनसंख्या, भुगोल, राजस्व तथ्याङ्क अनुसार बजेट बिनियोजन गर्छ ।




प्रतिकृया