बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
प्रकाशित मिति
२०८३ भाद्र २२ गते, सोमबार ०९:४९
२२ भदौ २०८३ काठमाडौं —बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासनपछि बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा भदौ २५ गतेसम्म खुला रहनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ।
कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ। नेप्सेमा शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको रेञ्जमा तोकिनेछ।



प्रतिकृया