• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

आजदेखि भ्रमण वर्ष शुरू, प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०६:५६

काठमाडौं , सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज अर्थात सन् २०२० जनवरी १ तारिखदेखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दै हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ। भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो।

उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ। अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ। सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ। नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ। राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने छन्। भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ। भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

Kamana Sewa

उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन्। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुगेका छन्। काठमाडौँको दशरथ रङ्गशालामा आज अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुगेका छन्।

Classic Tech Desktop

प्रतिकृया