दशरथ रङ्गशालामा ‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष समारोह हुँदै, प्रधानमन्त्री ओलीद्धारा सम्बोधन
प्रकाशित मिति
२०७६ पुष १४ गते, सोमबार १०:३१
काठमाडौँ, ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सरकारले राष्ट्रिय महोत्सवको रुपमा मनाउने भएको छ । भ्रमण वर्षलाई औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरिएको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ ।

जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् ।
कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता हुनेछन् ।




प्रतिकृया