• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

नेपाली कांग्रेस अन्तरिम संरचना गठनमा जुट्यो

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार १२:१९

काठमाडौं, नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ । संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो ।

कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो। निर्देशिका अनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो । राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ ।

Kamana Sewa

‘निर्देशिकाबारे हामीले छलफल गरेका हौं,’ समिति संयोजक अधिकारीले भने, ‘निर्देशिकामा कतिपय कुरा दोहोरिएका छन्, केही बुँदा दोहोरो अर्थ लाग्ने खालका पनि छन् । ती विषयमा प्रस्ट पार्ने काम भयो ।’ समिति निर्देशिका अनुसार स्थानीय संरचना निर्माणमा जुटेको उनले जानकारी दिए । निर्देशिकामा भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नु पर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ ।

Classic Tech Desktop

निर्वाचन समितिसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै सबै निकायमा पार्टी संगठन समायोजन गर्न सुझाव दिएका थिए । ‘सभापतिज्यूको भनाइ यथासक्य चाँडो वडा तहसम्म पार्टी संरचना बन्नुपर्छ भन्ने नै हो,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने, ‘सबै ठाउँमा सहमतिमा संरचना निर्माण गर्न उहाँले सुझाव दिनुभएको छ ।’

निर्वाचन समिति संयोजक अधिकारीले निर्देशिकाले तोकेको समयसीमामै पार्टीको अन्तरिम संरचना गठन भइसक्ने बताए। ‘धेरै ठाउँमा सहमतिमै संरचना बनिसकेका छन्, विवाद हुँदैन, पार्टी सभापति, वरिष्ठ नेताहरूले पनि आवश्यक सहयोग गर्छौं भन्नुभएको छ,’ उनले भने, ‘निर्देशिकामा सबै कुरा स्पष्ट उल्लेख भएकाले समयमै देशभरि पार्टीको अन्तरिम संरचना गठन भइसक्छन्।’ कांग्रेसमा सबै अन्तरिम संरचना सहमतिबाटै गठन हुनेछन् ।
अन्नपूर्ण दैनिकबाट साभार

प्रतिकृया