सरकारको असंबैधानिक गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र मर्दै : पुष्पा भुसाल
प्रकाशित मिति
२०७६ श्रावण १६ गते, बिहीबार ११:१५
भक्तपुर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं सांसद पुष्पा भुसालले सरकारको असंबैधानिक गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र मर्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले हिजो आयोजना गरेको सरकारले ल्याएका जनबिरोधी बिधेयक बिरुद्धको जानकारी सभा तथा खिर खाने कार्यक्रममा बोल्दै नेतृ भुसालले सो कुरा बताउनुभएको हो ।उहाँले नेपाल कम्युनिस्ट पार्टीका संबिधान बिरोधी कदमका कारण लोकतन्त्र खतरामा परेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताउनुभयो ।
सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीबाटै प्रणालीमाथि खतरा उत्पन्न भएको बताउँदै बिधी र कानुन मिचेर सबै शक्ति आफ्नो हातमा लिने प्रधानमन्त्रीको कदम संघीयता विरुद्ध भएको बताउनुभयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउँदै आफ्नै मन्त्रीलाई समेत विश्वास नगरेर मन्त्रीको अधिकार खोसेर आफै मातहत ल्याउन खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले राजस्व, गुप्तचर, अख्तियार जस्ता निकायलाई आफू मातहत ल्याउन खोजेको र स्वन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो,‘संसदमा एकपछि अर्को विधेयक संघीयताको विरुद्धमा, संविधानको विरुद्धमा,स्वतन्त्र न्यायपालिकाको विरुद्धमा र प्रेस स्वतन्त्रताको विरुद्धमा आइरहेका छन्,यस प्रति सबैले चनाखो भएर बिरोधमा एकै स्वर बुलन्द गर्नुपर्छ ।’

सरकार जनताका स्वतन्त्र सँस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै उहाँले दुईतिहाइ प्राप्त सरकारबाट जनताले गरेको आशा निरासामा परिणत भएको बताउनुभयो ।उहाँले सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्यमान्यता र संविधान विपरित भएको बताउनुभयो ।
उहाँले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएको महशुस जनताले गरिरहेको बताउनुभयो । उपगुटका कुरा छाडेर एकजुट हुनुपर्ने बताउँदै एकजुट भएर हिँड्ने हो भने कांग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न सक्दैन भन्नुभयो ।उहाँले काग्रेस भित्रको अविश्वासलाई अब हटाएर जानु पर्ने बताउँदै पार्टीलाई एक ढिक्का र मजबुद बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जिल्लाका नेता कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै आफू त्यो पहलमा सकृय रहेको बताउनुभयो ।उहाँले भक्तपुरमा बिकासको ठूलै हल्ला गरिए पनि त्यसले जनतालाई कति सेवा दियो त्यसको लेखाजोखा समयले गर्ने बताउनुभयो ।कार्यक्रममा कांग्रेस जिल्ला निबर्तमान सभापति गणेशमान चक्रधर, उपसभापति हरी नेपाल,सचिब उद्धब सिलवाल,१ नम्बरका क्षेत्रीय सभापति जीवन खत्री, २ नम्बरका क्षेत्रीय सभापति नारायणभक्त खायमली लगायतले सरकार संविधानले दिएको अधिकारलाई नै नियन्त्रण गरेर अगाडि जान खोजेको आरोप लगाउनुभयो ।




प्रतिकृया