• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने :शिक्षामन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०३:२७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ ।खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उहाँले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताउनुभयो । “सबैभन्दा राम्रा मान्छे शिक्षण पेशामा आउने हो”, उहाँले भन्नुभयो, “सक्नुहुन्छ भने शिक्षण पेशा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस् ।” कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिनुभयो ।

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आउनुभएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताउनुभयो । “अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ”, उहाँले भन्नुभयो, “१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेशा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।”

Kamana Sewa

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको भन्नुहुँदै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । “पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।”

Classic Tech Desktop

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताउनुभयो । सोमबारै खोटाङ आउनुभएका शिक्षामन्त्री पोखरेल आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ ।

आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । “सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन ।”

प्रतिकृया