प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान
प्रकाशित मिति
२०७६ जेष्ठ २६ गते, आईतवार ०१:५१
प्रधानमन्त्री केपी शर्मा ओली तीन युरोपियन मुलुकको भ्रमणका लागि केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । शनिवार साँझ सवा ७ बजे दोहातर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री ओली केहीबेर अघि दोहाबाट जेनेभातर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विजरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ ।
बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तराष्ट्रिय विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । दोहामा ट्राञ्जिटमा रहनुभएका प्रधानमन्त्री ओली आज जेनेभातर्फ लाग्नुभएको हो । प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कनुहुनेछ ।
प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवर्द्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विजरल्याण्डको जेनेभामा रहनुहुनेछ । उहाँले आईएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नुहुनेछ ।
जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने उहाँले त्यहाँको बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीको त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया