• १२ असोज २०८३, सोमबार
  • ३ः४७ दिउँसो

नेपाल र साइप्रसबीच सुमधुर कुटनीतिक सम्बन्ध छः सभामुख सापकोटा

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०७:४३

काठमाडौ, नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ ।

National Life

उहाँहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर कुटनीतिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गर्नुभएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले साइप्रसमा १० हजारभन्दा बढी नेपाली कामदार पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यवस्थापनमा सहज हुने धारणा राख्नुभयो । उहाँले साइप्रसले नेपाली विद्यार्थीलाई अध्ययनको अवसर सिर्जना गरेको र कोभिड–१९ का महामारीकाबीचमा पनि साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख सापकोटाले नेपालको सङ्घीय संसद् र साइप्रसको संसद्बीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राख्नुभयो । विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै उहाँले यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताउनुभयो ।

सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गर्नुभयो । उहाँले काम र अध्ययनका सिलसिलामा १० हजारभन्दा बढी नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष सिलौरिसले संसदीय मैत्री समूह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताउनुभएको थियो ।
रासस

प्रतिकृया