चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
प्रकाशित मिति
२०८३ आश्विन १२ गते, सोमबार ०१:१४
१२ असोज २०८३ काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वमा सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने जनाएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म यात्रुलाई हाल कायम भाडादरमै सेवा दिने प्रतिबद्धता जनाएका हुन्।
उनले चाडपर्वमा अग्रिम टिकट बुकिङ व्यवस्थापन गर्नु मात्रै पर्याप्त नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए। सडकको कमजोर अवस्था र विभिन्न स्थानमा देखिएका अवरोधका कारण यातायात सञ्चालनमा समस्या भए पनि सरकारसँग समन्वय गरेर सेवा निरन्तर सञ्चालन गरिने उनको भनाइ छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले तोकिएका बसपार्क तथा आधिकारिक काउन्टरबाट मात्रै टिकट बिक्री गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने सिटौलाले बताए। यसले बिचौलियाको गतिविधि र यात्रु ठगी नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
महासंघले सवारीसाधनको वर्गअनुसार सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको जनाएको छ। नर्मल, डिलक्स र सुपर डिलक्स सवारीका लागि तोकिएको दरभन्दा बढी भाडा नलिन व्यवसायीलाई सचेत गराइएको सिटौलाले बताए।
दसैँलगायत चाडपर्वका समयमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापनका लागि मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्ने व्यवस्था गर्न तथा सडक मर्मतलाई तीव्रता दिन उनले सरकारसँग आग्रह गरे। खाल्डाखुल्डी पुर्ने, सडकको अवस्था सुधार्ने र सडक सुरक्षा बढाउने काममा कम्तीमा १५ देखि २० दिन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
चाडपर्वका लागि अग्रिम बुकिङ भएका सवारीसाधनलाई अन्य प्रयोजनका लागि रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिइएको पनि सिटौलाले जानकारी दिए। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राखेर मूल्य स्थिर राख्नुपर्ने महासंघको धारणा छ। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म सार्वजनिक यातायातको भाडा पनि वृद्धि नगर्ने सिटौलाले स्पष्ट पारे।







प्रतिकृया