• १२ असोज २०८३, सोमबार
  • ६ः१६ बेलुका

विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०८:११

भक्तपुर, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको सौडोलस्थित देवी माध्यमिक विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

National Life

एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोग, केन्द्रीय कार्यान्वय इकाई र जिल्ला आयोजना इकाई (शिक्षा) को समन्वयमा निर्माण कार्य सम्पन्न भएको सो विद्यालयको भवन आज हस्तान्तरण गरिएको हो । जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुँकांलाई संयुक्त रुपमा विद्यालय भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन क्षति भएपछि बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थियो । एशियाली विकास बैंककोे रु। तीन करोड ७३ लाख ७७ हजारको सहयोगमा निर्माण भएको सो भवन आधुनिक सुविधा सम्पन्न रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त भवनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । भूकम्पप्रतिरोधी अत्याधुनिक भवन पाएपछि त्यसको सदुपयोगमा विद्यालयले ध्यान दिनुपर्ने बताउँदै उहाँले सरकारले पठनपाठनबारे आवश्यक बन्दोबस्त नगर्दा अहिले लाखौं विद्यार्थी पढाइबाट बञ्चित हुनु परेको आरोप लगाउनुभयो ।

सांसद सुवालले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको समयमा अझ बढी आत्मनिर्भर अर्थतन्त्रको जरुरी रहेको उल्लेख गर्दै यसतर्फ सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा परिचित यो विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै ठाउँ अभाव भएकोमा अब भने त्यो समस्या समाधान हुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाले विद्यालयले दिने शिक्षालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन विद्यालय परिवार एकतावद्ध भएर लागिरहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक छुँकांले कूल छ सय पाँच विद्यार्थी अध्ययनरत विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण भवन क्षति हुँदा ठाउँ अभाव भएको थियो, हामीले सात कोठे भवन पाएपछि समस्या हल भएको छ ।”

विद्यालयका शिक्षक राजेन्द्रकुमार साखकर्मीले विद्यालयले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिइरहेको जानकारी दिनुभयो ।
रासस

प्रतिकृया