सञ्चारगृहमाथिको अवरोध प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो : रास्वपा सचेतक परियार
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०२:०४
३० असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध, त्रास वा दबाब प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
परियारले राजधानीका एक अग्रणी सञ्चारगृहको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत अवरुद्ध पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गर्दै यस्तो गतिविधि सत्यसँग डराउनेहरूको काम भएको बताए। “सत्यलाई ढाकछोप गर्न खोज्नु हत्केलाले सूर्य छेक्न खोज्नुजस्तै हो,” उनले भने।

उनले निरंकुश शाही शासनका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुकधारी सेना समाचार कक्षमै प्रवेश गरेर समाचार सेन्सर गर्ने गरेको इतिहास स्मरण गर्दै त्यस्तो दमनका बीच पनि नझुकेको नेपाली पत्रकारिता आज केही गाडी तेर्स्याएर तर्सिने अवस्था नरहेको बताए। “ओखलीमा टाउको हालेपछि मुसलको के डर” भन्ने उखान उद्धृत गर्दै उनले प्रेसलाई त्रसित बनाउने प्रयास सफल नहुने दाबी गरे।

परियारले रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै सत्ता वा स्वार्थका कारण सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको दबाब वा अराजकता सिर्जना हुन नहुने बताए।
उनले सञ्चारमाध्यमभित्र पनि सुधार आवश्यक रहेको स्वीकार गर्दै स्वतन्त्रतासँगै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए। महात्मा गान्धीको भनाइ उद्धृत गर्दै उनले स्वतन्त्र प्रेससँगै उत्तरदायी पत्रकारिता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताए।
सदनमार्फत सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै परियारले सबै सञ्चारगृह र पत्रकारलाई त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न सक्ने सुरक्षा सुनिश्चित गर्न माग गरे।




प्रतिकृया