प्रधानमन्त्री बालेन र रवि लामिछानेको संसद् प्रवेशमा एमालेको नियमापत्ति, रुलिङ माग
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०१:५९
३० असार २०८३ काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रममा संसद् नियमावली उल्लंघन भएको भन्दै नियमापत्ति जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले प्रधानमन्त्री शाह र सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) उल्लंघन गरेको आरोप लगाए ।

उनले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था भए पनि प्रधानमन्त्री र सत्तापक्षका सभापति त्यसरी हिँडेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

“प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिँड्न नहुने व्यवस्था छ,” महरले भने, “तर माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले उक्त नियम उल्लंघन गर्नुभएको छ । यसमा रुलिङको माग गर्दछु ।”
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने मंगलबारको बैठकमा प्रवेश गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेकी थिइन् । सोही क्रममा उनीहरू सभामुखको आसनतर्फको बाटो हुँदै प्रवेश गरेको भन्दै एमालेले आपत्ति जनाएको हो ।




प्रतिकृया