सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य, भारतको स्पष्ट सन्देश
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०९:१९
काठमाडौं । भारतले नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ। भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै नेपाल र भारतबीचका सीमा तथा अन्य द्विपक्षीय विषय समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र नै पर्याप्त रहेको बताएका हुन्।

उनले भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भागको सीमांकन भइसकेको उल्लेख गर्दै केही खण्डहरू भने अझै समाधान हुन बाँकी रहेको बताए। गण्डक नदीको बहाव परिवर्तन भएका कारण केही क्षेत्रमा सीमा सम्बन्धी जटिलता देखिएको उनको भनाइ थियो।

जैशवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्ति तथा त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य भारतले ध्यानपूर्वक अध्ययन गरेको पनि बताए।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा नेपाल–भारत सीमा विवादको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै यो विषय सुगौली सन्धि सम्म जोडिने भएकाले आवश्यक परे बेलायतसँग पनि संवाद गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए। साथै उनले नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको हुन सक्ने टिप्पणी गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेपाल–भारत सीमा विषय पुनः राजनीतिक तथा कूटनीतिक बहसको केन्द्रमा आएको छ।




प्रतिकृया