आजको मौसम: पहाड–हिमालमा बादल, तराईमा तातो बढ्ने
प्रकाशित मिति
२०८३ बैशाख ९ गते, बुधबार ०८:५१
९ बैशाख २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले देशको हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने ती प्रदेशका पहाडी भू–भाग र कर्णाली प्रदेशका केही क्षेत्रमा आंशिक बादल लाग्नेछ। अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यसैबीच मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तातो बढ्ने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिम पनि देखिएको छ।

आज राति भने कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश भू–भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।




प्रतिकृया