सरकारलाई हर्क साम्पाङका ३३ बुँदे सुझाव, आत्मनिर्भर अर्थतन्त्रदेखि शिक्षा सुधारसम्म जोड
प्रकाशित मिति
२०८३ बैशाख ८ गते, मंगलवार ०३:३२
८ बैशाख २०८३ काठमाडौं – हर्क साम्पाङ ले सरकारलाई ३३ बुँदे सुझाव सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र शिक्षा प्रणाली सुधारमा केन्द्रित सुझाव अघि सारेका हुन्।
साम्पाङले नेपाल विदेशी हस्तक्षेपबाट मुक्त रहनुपर्नेमा जोड दिँदै एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौतामा नजोडिन सरकारलाई सुझाव दिएका छन्। साथै, छिमेकी देशहरूसँग नियमित छलफल र निरीक्षणको व्यवस्था गर्न तथा नेपाली सेनालाई सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका छन्।

आर्थिक क्षेत्रमा उनले प्राकृतिक स्रोत र आधुनिक प्रविधिको उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्। नुन, तेल र पेट्रोलियम पदार्थजस्ता आधारभूत वस्तुको मूल्य सर्वसाधारणको पहुँचमा राख्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

शिक्षा प्रणाली सुधारतर्फ उनले हप्तामा तीन दिन किताबी ज्ञान र चार दिन श्रम, सीप तथा उत्पादनमूलक अभ्यासमा आधारित शिक्षानीति लागू गर्नुपर्ने प्रस्ताव गरेका छन्। कृषिलाई शिक्षा र उद्योगको आधार मान्दै सिँचाइ, मल र बिउ किसानको सहज पहुँचमा पुर्याउनुपर्ने सुझाव दिएका छन्।
यसका साथै ‘एक परिवार, एक रोजगार’ नीति लागू गर्नुपर्ने उल्लेख गर्दै साम्पाङले सरकारलाई व्यवहारिक र उत्पादनमुखी विकासतर्फ उन्मुख हुन आग्रह गरेका छन्।






प्रतिकृया