• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

आर्टेमिस–२ अभियान: आधा शताब्दीपछि मानव पुनः चन्द्रमातर्फ

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०९:१९

१७ चैत,२०८२ काठमाडौं – करिब आधा शताब्दीपछि मानव पुनः चन्द्रमातर्फ फर्किने तयारीमा पुगेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासा को आर्टेमिस–२ अभियान अन्तिम चरणमा पुगेको छ र प्रक्षेपण नजिकिएको जनाइएको छ।

यस अभियानअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब पाँच लाख माइलभन्दा बढी दूरीको यात्रामा पठाइनेछ। प्रक्षेपणका लागि स्पेस लन्च प्रणाली र ओरायन अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थल ३९बी मा स्थापना गरिएको छ। अप्रिलको सुरुवातमै प्रक्षेपण हुने सम्भावना रहेको छ।

Kamana Sewa

नासाका अनुसार यो १० दिने यात्रा केवल चन्द्रमाको परिक्रमा मात्र नभई भविष्यमा मानव अवतरण र स्थायी आधार स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ। यद्यपि, यसअघि मानवसहित प्रयोग नभएको यानमा पहिलोपटक अन्तरिक्षयात्री पठाइँदा अभियानलाई जोखिमपूर्ण मानिएको छ। प्राविधिक समस्याका कारण मार्चमा स्थगित भएको यो अभियान अहिले अन्तिम परीक्षणपछि तयारी अवस्थामा पुगेको हो।

Classic Tech Desktop

यस अभियानमा कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, अन्तरिक्षयात्री क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सन सहभागी हुँदैछन्। चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय तालिम लिएका छन्। तीमध्ये तीन जनाले यसअघि अन्तरिक्ष यात्रा गरिसकेका छन् भने ह्यान्सन पहिलोपटक उडानमा सहभागी हुँदैछन्।

अभियानको सबैभन्दा संवेदनशील क्षण चन्द्रमाको पछाडिको भागमा पुग्दा आउनेछ, जहाँ ३० देखि ५० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद हुनेछ। पृथ्वीमा फर्किँदा यानले अत्यन्त उच्च गतिमा वायुमण्डलमा प्रवेश गर्दै अत्यधिक तापक्रम सहनुपर्नेछ।

पूरा यात्राका क्रममा अन्तरिक्षयात्रीहरू ओरायन क्याप्सुलभित्र सीमित स्थानमा बसेर काम, खानपिन, आराम र व्यायाम गर्नुपर्नेछ। क्याप्सुलमा जीवन सहायक प्रणाली, पानी, खाद्यान्न र आवश्यक उपकरणको व्यवस्था गरिएको छ।

यो अभियान सफल भएमा मानवलाई पुनः चन्द्रमामा पठाउने योजनामा ठूलो उपलब्धि हासिल हुने विश्वास गरिएको छ।

प्रतिकृया