• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

तराईमा आज हर्षोल्लासका साथ होली मनाइँदै

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०७:०७

 १९ फाल्गुन,२०८२ काठमाडौं – आज मंगलबार देशका तराई जिल्लाहरूमा रङ्गहरूको पर्व होली (फागु) हर्षोल्लासका साथ मनाइँदैछ। पहाडी तथा हिमाली जिल्लाहरूमा सोमबार मनाइएको होलीको भोलिपल्ट तराईमा परम्पराअनुसार पर्व मनाउने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भावको प्रतीकका रूपमा लिइन्छ। होलीका अवसरमा साथीसंगी र आफन्तहरू भेला भई एकअर्कामा रङ दलेर खुसी साटासाट गर्ने परम्परा छ।

Kamana Sewa

होलीमा प्रयोग गरिने रङहरूको आफ्नै सांस्कृतिक महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु तथा श्रीकृष्ण को प्रिय रङ मानिन्छ। गणेश लाई सबै रङ मन पर्ने विश्वास छ भने रातो रङलाई शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ।

Classic Tech Desktop

पौराणिक मान्यताअनुसार सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्न उनका पिता हिरण्यकश्यपले विभिन्न प्रयास गर्दा असफल भएपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्दा प्रह्लाद सुरक्षित रहे भने होलिका स्वयं जलेर नष्ट भइन्। यस घटनालाई असत्यमाथि सत्यको विजयका रूपमा स्मरण गर्दै होली पर्व मनाउने परम्परा रहिआएको छ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। सुरक्षा निकायले पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया