• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

आज सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन हुने

प्रकाशित मिति

२०८२ फाल्गुन १८ गते, सोमबार ०७:५८

१८ फाल्गुन,२०८२ काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोग ले सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति पुग्न निर्देशन दिइसकेको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार दुर्गम तथा विकट क्षेत्रमा भने केही दिनअघि नै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। “सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा टोली पुग्नुपर्छ भनेर यसअघि नै निर्देशन दिएका छौँ,” उनले भने, “मतदान सामग्रीसहित पुगेपछि केन्द्रमा केही तयारीका कामसमेत गर्नुपर्ने हुन्छ।”

Kamana Sewa

प्रवक्ता भट्टराईका अनुसार सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी सम्बन्धित सूचना टाँस्नुपर्नेछ। कुन क्षेत्र मतदान केन्द्रको परिधिभित्र पर्छ भन्ने स्पष्ट देखिने गरी सूचना सार्वजनिक गरिनेछ।

Classic Tech Desktop

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतले निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ। मतदान सम्पन्न नहुँदासम्म सुरक्षाकर्मी र कर्मचारीको टोली सँगै रहनेछ।

आयोगका अनुसार आइतबारसम्म सडक सुविधा नपुगेका तथा सदरमुकामबाट टाढा रहेका करिब ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर परिचालन गरिएको थियो। शहरी र तराई क्षेत्रका मतदान केन्द्रमा भने सोमबार अपराह्नसम्म कर्मचारी पुगिसक्ने जनाइएको छ।

मतदान अधिकृतको जिम्मामा रहने मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा नेपाल प्रहरी ले गर्नेछ। आयोग र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई सिलबन्दी मतपत्र र निर्वाचन सामग्री २४सै घण्टा निगरानीमा राख्न निर्देशन दिएको छ।

मतदान केन्द्र निर्धारण कार्यविधिअनुसार प्रत्येक स्थानीय तहको वडामा कम्तीमा एक मतदान केन्द्र रहने व्यवस्था छ। मतदाता संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र तोकिनेछ। तर एउटै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नमिल्ने प्रावधान छ। प्रत्येक केन्द्रमा एक हजारभन्दा बढी मतदाता नराखिने व्यवस्था गरिएको छ।

मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना जारी गरेपछि सर्वदलीय बैठक बोलाउनुपर्नेछ। त्यसपछि प्रचारप्रसार निषेधसम्बन्धी सूचना प्रकाशन गरिनेछ। मतदान सुरु भएदेखि सम्पन्न नभएसम्म आवश्यकतानुसार सर्वदलीय बैठक बसाल्ने, मतपेटिकाको मुचुल्का तयार गर्ने लगायतका काम मतदान अधिकृतको जिम्मेवारीमा रहनेछ।

मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ। मतपेटिका र निर्वाचन सामग्री जिम्मा लगाइसकेपछि मात्र मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।

प्रतिकृया