• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ दिउँसो

आज मध्यरातिदेखि मौन अवधि सुरु : निर्वाचन अवधिमा के–केमा प्रतिबन्ध ?

प्रकाशित मिति

२०८२ फाल्गुन १८ गते, सोमबार ०७:४४

१८ फाल्गुन,२०८२ काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएसँगै कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा चुनावी गतिविधि सञ्चालन गर्न पाइने छैन।

National Life

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि मतदान कार्य सम्पन्न नभएसम्म लागू रहनेछ। त्यसैले आज दिनभर चुनावी सभा, घरदैलो र प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएका छन्।

मतदानका क्रममा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस्, मतदातामा त्रास नफैलियोस् र शान्त वातावरणमा मतदान सम्पन्न होस् भन्ने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न मौन अवधि लागू गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

यदि मतदान अघिल्लो दिनसम्म प्रचारप्रसार खुला राखिएमा मतदातालाई प्रभावित पार्ने, विवाद सिर्जना हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम रहने आयोगको भनाइ छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, अन्तरक्रिया, गोष्ठी, कार्यशाला वा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन। सामाजिक सञ्जालमार्फत् समेत कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न निषेध गरिएको छ।

निर्वाचन आचारसंहिताअनुसार दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ। मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन लगाउनेछ।

त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्नसमेत रोक लगाइएको छ। निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिकृया