• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

आजदेखि देशभरका किशोरीलाई एचपीभी खोप अभियान सुरु

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार १२:०५

२५ माघ,२०८२ काठमाडौं – सरकारले आजदेखि देशभर कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत कक्षा ६ मा पढ्ने किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई पनि यही अभियानमार्फत खोप दिइने शाखाले जनाएको छ। हिमाली तथा हिउँ पर्ने जिल्लामा भने अभियान चैत महिनामा सञ्चालन हुनेछ।

Kamana Sewa

कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्यलाई तोकिएका खोप केन्द्रबाट एचपीभी खोप दिइने व्यवस्था गरिएको छ। खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै सबैलाई खोप लगाउन आग्रह गरेका छन्।

Classic Tech Desktop

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरबाट हुने महिलाको मृत्युमा यो पहिलो कारण मानिन्छ। औसतमा दैनिक ६ जना महिलामा यो क्यान्सर देखिने र चार जनाको ज्यान जाने गरेको तथ्यांक छ। शाखाका अनुसार यस अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाइने लक्ष्य राखिएको छ।

प्रतिकृया