वीरगञ्जमा हैजा समुदायस्तरमै फैलिँदा दुई दिन विद्यालय बन्द
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार ०९:४७
भदौ ८,२०८२ वीरगञ्ज — वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिने भएको छ। वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार हैजाको जोखिमलाई मध्यनजर गर्दै यहि शुक्रबार र आइतवार (भदौ ८ र ९ गते) विद्यालयहरू बन्द गरिने निर्णय गरिएको हो।
पर्सा जिल्लाको वीरगञ्जमा हैजाको संक्रमण दिनप्रतिदिन फैलिँदै गएको छ। विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये हालसम्म ४२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ भने १२९ जना अझै उपचाररत रहेका छन्। संक्रमित र बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको अस्पताल स्रोतहरूले जनाएका छन्।

विशेषगरी वीरगञ्ज महानगरपालिका अन्तर्गत ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण बढी देखिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार, पछिल्लो १० वर्षयता पर्सा जिल्लामा समुदायस्तरमै पहिलोपटक हैजाको यस्तो ठूलो प्रकोप देखिएको हो।

हैजा एक तीव्र संक्रामक रोग हो, जसको कारण भिब्रियो कोलेरा नामक जीवाणु हो। यो प्रायः दूषित पानी वा खानाबाट शरीरमा प्रवेश गरी पेटमा संक्रमण फैलाउँछ। झाडापखाला, बान्ता, पेट दुख्ने, डिहाइड्रेशन, मांसपेशी दुख्ने, आँखा गडिने र ज्वरो हैजाका मुख्य लक्षणहरू हुन्। समयमै उपचार नभएमा हैजाले ज्यान समेत लिन सक्छ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार हैजा रोकथाम गर्न समयमै सरसफाइ, स्वच्छ खानेपानीको पहुँच, स्वास्थ्य शिक्षा, र निगरानी प्रणालीको आवश्यकता पर्छ। तर राज्यस्तरमा यी कुरामा प्रभावकारी नीति लागू नभएकाले हैजा नियन्त्रणमा चुनौती देखिएको छ।
स्थानीय बासिन्दाहरूले दूषित खानेपानी र ढिलो पहुँच भएको स्वास्थ्य सेवाका कारण समस्या झन जटिल भएको बताएका छन्। महानगरपालिकाले भने संक्रमित क्षेत्रहरूमा पानीको गुणस्तर जाँच, औषधि वितरण, जनचेतनामूलक कार्यक्रम र आकस्मिक उपचार सेवा विस्तार गर्ने जनाएको छ।




प्रतिकृया