धादिङमा निषेधाज्ञा: भौतिक उपस्थितिमा पठन-पाठन जारी
प्रकाशित मिति
२०७८ श्रावण २२ गते, शुक्रबार ११:०३
पवित्रा थापा मगर
२२ साउन, २०७८ धादिङ : धादिङमा जारी निषेधाज्ञाको अवज्ञा गर्दै जिल्लाका अधिकांश विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न थालेका छन् । निषेधाज्ञा जारी रहेको अवस्थामा विद्यालय सञ्चालन नगर्नका लागि जिल्ला प्रसाशन कार्यलय धादिङले सूचना जारी गर्दा समेत नीजि तथा सामुदायिक विद्यालयहरुले त्यसको वेवास्ता गर्दै आएका छन् ।

कोरोना संक्रमणको उच्च जोखिमका कारण शिक्षण संस्था बन्द गर्न प्रशासनले आग्रह गरेता पनि धादिङका केहि विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गरिरहेको हो । पछिल्लो दिनमा दैनिक कोरोना संक्रमित हुनेको संख्या बढेको अवस्थामा भौतिक रुपले पठनपाठन नगर्न सर्कुलर जारी गरेता पनि धादिङका कतिपय सरकारी र निजी विद्यालयले जोखिम लिएरै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालय सञ्चालन गर्न कुनै अनुमति नदिएको र डिसिएमसिको बैठकमा यसबारे कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जनाएका छन् ।

उनका अनुसार विद्यालय सञ्चालन भएको जानकारी दिँदै शिक्षा विकास तथा समन्वय ईकाईलाई समेत अनुगमनको लागि आग्रह गरिएको छ । नगरपालिकाको शिक्षा समितिबाट समेत विद्यालय सञ्चालन सम्बन्धमा कुनै पनि निर्णय र परिपत्र नभएको नीलकण्ठ नगरपालिका धादिङका शिक्षा अधिकृत तुल बहादुर महतले बताए । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ५ गतेदेखि देशका सवै शिक्षण संस्था र तालिम केन्द्र बन्द गर्ने निर्णय गरेको थियो ।




प्रतिकृया