तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
प्रकाशित मिति
२०८३ श्रावण ५ गते, मंगलवार ०३:५८
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगको विकास र विस्तारका लागि आवश्यक सबै प्रकारको सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
छलफलका क्रममा उद्योगीहरूको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन उनले सम्बन्धित मन्त्रीलाई निर्देशन दिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योग पुनः सञ्चालन गर्ने, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने तथा अमेरिकी बजारमा नेपाली तयारी पोसाकको निर्यातमा देखिएका ‘टेस्टिङ सर्टिफिकेसन’ सम्बन्धी समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
उनले ‘फार्म टु फाइबर, फाइबर टु फेब्रिक, फेब्रिक टु फेसन र फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत सरकारले काम गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, ग्रिन गार्मेन्ट भिलेज निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिँदै प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगले भोगिरहेका समस्याको समाधान गरी नेपाललाई विकासशील मुलुक बनाउने यात्रामा यस क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।






प्रतिकृया