सम्झौता सकिएका मेस्सीले बार्सिलोनाबाट के के प्राप्त गरे ?
प्रकाशित मिति
२०७८ असार १७ गते, बिहीबार ०४:३९
काठमाडौँ : स्पेनिस क्लब बार्सिलोनासँग लियोनल मेस्सीको सम्झौता सकिएको छ। उनलाई अब कुनैपनि क्लबमा जान बार्सिलोनाको अनुमति आवश्यक पर्ने छैन। यद्यपी मेस्सीले आफ्नो भविष्यसँग केही बताएका छैनन्। यता बार्सिलोनाले भने मेस्सीसँग सम्झौता थप गर्न प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
सम्झौता सकिन लागेको विषयमा बार्सिलोनाका अध्यक्ष जोवान लापोर्तासँग राखिएको जिज्ञासामा उनले ‘डन्ट वरी’ भन्ने जवाफ दिएको अल जजिराले उल्लेख गरेको छ। सन् २०१७ मा मेस्सी र बार्सिलोनाले सम्झौता नवीकरण गरेका थिए। गत वर्ष उनले बार्सिलोना छाड्ने मनासय व्यक्त गरेपनि क्लबले नदिएपछि उनि स्पेनिस क्लबमै रहन बाध्य भएका थिए। असन्तुष्टिका बाबजुद गत सिजन मेस्सी ३० गोलसहित ला लिगाको सर्वाधिक गोलकर्ता हुनुका साथ स्पेनिस कोपा डेल रे पनि जित्न सफल भएका थिए।
मेस्सी १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमी ला मासिया भित्रिएका थिए। सन् २००४ मा ला लिगामा डेब्यु गरेका यी स्टार स्ट्राइकरले बार्सिलोनाका लागि हालसम्म ३५ वटा उपाधि जितेका छन्। उनले १० ला लिगा, ७ कोपा डेल रे, ८ स्पेनिस सुपर कप, ४ युरोपियन च्याम्पियन्स लिग, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप उपाधि जितेका छन्। उनी विश्व कीर्तिमानी ६ पटक फिफा वर्ष खेलाडी भएका छन्।
मेस्सी ला लिगामा पछिल्ला लगातार ५ सहित ८ सिजन सर्वाधिक गोलकर्ता र ६ सिजन युरोपियन गोल्डेन बुट (युरोपका घरेलु लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड) जितेका छन्। यी दुवै उनका कीर्तिमान हन्। सर्वाधिक युरोपियन गोल्डेन बुट जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन्। उनले यो अवार्ड ४ पटक जितेका छन्। मेस्सी युरोपियन च्याम्पियन्स लिगमा पनि ६ सिजन सर्वाधिक गोलकर्ता बनेका छन्। च्याम्पियन्स लिगमा सर्वाधिक सिजन सर्वाधिक गोलकर्ताको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा छ। उनी युरोपियन च्याम्पियन्स लिगमा सात सिजन सर्वाधिक गोलकर्ता बनेका छन्।
मेस्सीको नाममा ला लिगामा सर्वाधिक गोल गर्ने र बार्सिलोनाबाट सर्वाधिक गोल गर्ने कीर्तिमान पनि छ। उनले ला लिगामा ४ सय ७४ गोल गरेका छन् भने बार्सिलोनाबाट सबै प्रतियोगितामा गरि ६ सय ७२ गोल गरेका छन्। ला लिगामा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। उनले ३ सय ११ गोल गरेका छन्। मेस्सी बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन्।
बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त ‘ एल क्लासिको’मा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। मेस्सीले २६ गोल गरेका छन्। उनीको सबैभन्दा नजिक रहेका गोलकर्ताका रुपमा अल्फ्रेड डे स्टेफानो र क्रिस्टियानो रोनाल्डोको नाममा १८/१८ गोल रहेको छ। मेस्सी अहिले कोपा अमेरिका खेलिरहेका छन्। मेस्सीलाई भित्र्याउन फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजी, इङ्ल्यान्डको म्यानचेस्टर सिटीजस्ता क्लबहरु लालयित रहेको बताइन्छ। म्यान सिटीमा बार्सिलोनाकै पूर्व प्रशिक्षक पेप गार्डिओला छन्।
गार्डिओला र मेस्सीबीच सुमधुर सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। म्यान सिटीसँगै पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्न प्रयासरत छन्। बार्सिलोनाका वर्तमान अध्यक्ष लापोर्तासँग मेस्सीको सम्बन्ध राम्रो रहेकाले उनी अन्य क्लब नजान सक्ने सम्भावना पनि नकार्न नसकिने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।







प्रतिकृया