यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ श्रावण ८ गते, शुक्रबार ०७:०१
८ साउन २०८३ काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले मौसम बदलीसँगै वर्षाको गतिविधि जारी रहनेछ।
हाल देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।




प्रतिकृया