• ५ साउन २०८३, मंगलबार
  • ८:१२ बिहान

आज साउनको पहिलो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि खुल्यो मन्दिर

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार ०९:२८

४ साउन २०८३ काठमाडौं- साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ। साउने झरीको पर्वाह नगरी श्रद्धालुहरू बिहान सबेरैदेखि भगवान् शिवको दर्शन र पूजा–आराधनाका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खोलिएका छन्। दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि विशेष व्यवस्था मिलाइएको उनले बताए। यद्यपि पदाधिकारी नियुक्तिमा ढिलाइ र जनशक्ति अभावका कारण आवश्यकताअनुसार सबै काम गर्न चुनौती रहेको उनले स्वीकार गरे।

Kamana Sewa

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाका स्वयंसेवक परिचालन गरिएको छ। लाखौँ श्रद्धालुलाई सहज र मर्यादित वातावरणमा दर्शन गराउने लक्ष्यसहित सुरक्षा र व्यवस्थापनका सबै तयारी पूरा गरिएको कोषले जनाएको छ।

Classic Tech Desktop

आज मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। दर्शनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजनको चहलपहल बढे पनि लाम अत्यधिक लामो नभएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक स्वास्थ्य र अन्य सेवा पनि उपलब्ध गराइएको छ। पशुपतिनाथसँगै काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत राजधानीका विभिन्न शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ। यस्तै, देशभरका शिवालयहरूमा पनि साउनको पहिलो सोमबारका अवसरमा पूजा, जलाभिषेक र दर्शन गर्ने श्रद्धालुको उल्लेखनीय उपस्थिति रहेको छ।

प्रतिकृया