नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको निर्देशन
प्रकाशित मिति
२०८३ श्रावण ७ गते, बिहीबार ०४:३२
७ साउन २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज बनाउन आवश्यक पहल गर्न निर्देशन दिएका हुन्।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण अत्यन्त खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना गर्न माग गरेका थिए। साथै, प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको ७५ प्रतिशत अनुदान पुनः सञ्चालन गर्न पनि आग्रह गरेका थिए।

प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै आवश्यक नीतिगत व्यवस्था गरिने बताए। उनले प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग तथा सहकारीलाई अनुदान उपलब्ध गराउने विषयमा पनि सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्। छलफलमा अर्ग्यानिक उत्पादन निर्यातमा रोकिएको सरकारी अनुदान पुनः सञ्चालनका लागि कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिइएको थियो।





प्रतिकृया