मिडिया हाउसअगाडि गाडी पार्किङ प्रकरण : रास्वपा सांसद मौन, विपक्षी आक्रामक
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०१:३४
३० असार २०८३ काठमाडौं – काठमाडौंका विभिन्न मिडिया हाउस र राजनीतिक व्यक्तिको कार्यालयअगाडि भएको शंकास्पद गाडी पार्किङ प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभामा मौन बसेका छन् ।
सोमबार अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया ग्रुप का कार्यालय अगाडि प्रवेशमा अवरोध हुने गरी गाडी पार्क गरिएको विषय विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभामा उठाए पनि रास्वपाका सांसदहरूले भने यसबारे कुनै धारणा राखेनन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्ने क्रममा रास्वपाका सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विदेशमा रहेका नेपालीका विषय, विद्युत् समस्या तथा आत्मदाह घटनाबारे आवाज उठाए । तर शंकास्पद गाडी पार्किङ प्रकरणबारे भने उनीहरू मौन रहे । रास्वपा सांसद अमरेशकुमार सिंहले सर्लाही–४ का युवा विवेक मण्डलको आत्मदाह घटनाको विषय उठाउँदै पछिल्लो समय युवामा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गरे । उनले लोकतन्त्र र राज्य जोगाउन सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

“लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौंला । सत्ता र प्रतिपक्ष स्थायी हुँदैनन्,” उनले भने, “जनता र लोकतन्त्र समाप्त भयो भने हामी कोही पनि रहने छैनौं ।”
यद्यपि सरकारसँग जोडिएका पछिल्ला विवाद र शंकास्पद गाडी पार्किङ घटनाबारे उनले केही बोलेनन् । बैठकमा रास्वपा सांसद लालविक्रम थापाले सुनसरीमा विद्युत् समस्याका कारण भएको दुर्घटनामा मृत्यु भएका दुई प्राविधिकको परिवारलाई क्षतिपूर्ति दिन माग गरे । अर्का सांसद दीपककुमार साहले सुनसरीमा लामो समयदेखि भइरहेको विद्युत् अवरोधबारे सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद शम्भुकुमार यादवले सिरहाको गोलबजारमा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको घटनाबारे सरकारलाई जिम्मेवार बन्न आग्रह गरे ।
यसैबीच, विपक्षी दलका सांसदहरूले भने मिडिया कार्यालयअगाडि भएको गाडी पार्किङ घटनालाई गम्भीर विषयका रूपमा उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले उक्त गतिविधि “राज्य संरक्षित केही व्यक्तिबाट भएको” हुन सक्ने टिप्पणी गरे ।
त्यसमा रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गर्दै एउटा व्यक्तिको गतिविधिलाई लिएर सिंगो राज्यलाई आरोप लगाउन नमिल्ने बताइन् ।नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारमाथि उठेका प्रश्नको जवाफ नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आलोचना गरेपछि रास्वपा सांसद शिवशंकर यादवले ‘श्री ८ को सरकार’ भन्ने सम्बोधन संविधानसम्मत नभएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
गाडी पार्किङ प्रकरणमा प्रहरीले घटनास्थल पुगेर गाडीधनीको खोजी गरे पनि अहिलेसम्म कसले र किन त्यसरी गाडी पार्क गर्यो भन्ने विषयमा ठोस निष्कर्ष सार्वजनिक गरेको छैन ।




प्रतिकृया