ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई जवाफ : भीरमा अड्किएकाको उद्धार माग्नु राजनीतिकरण होइन
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ११:५३
३० असार २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई कर्णालीको भीरमा अड्किएकाको उद्धार गर्न माग गर्नु राजनीतिकरण नभएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसद् भवनमा आगो लगाउने र पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई भने राजनीतिकरण भएको आरोप लगाए ।
“संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,” उनले भने । उनले पदमा नहुँदा नेताको तलब, सुविधा र सुरक्षाको विरोध गर्ने तर सत्तामा पुगेपछि त्यही सुविधा प्रयोग गर्ने प्रवृत्ति पनि राजनीतिकरण भएको टिप्पणी गरे ।

शाहीले मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याउने जस्ता गतिविधि पनि राजनीतिकरणको उदाहरण भएको बताए । उनले कर्णाली नदीमा गाडी खसेर घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर नपठाउने, फोन नउठाउने र पछि संसद्मा आएर भावुक बन्ने कार्यलाई राजनीतिकरण भन्न नमिल्ने बताए ।

यसअघि गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु र कर्णाली नदीमा गाडी खसेको घटनालाई राजनीतिकरण गरिएको आरोप लगाएका थिए । शाहीले सोही अभिव्यक्तिको जवाफ दिँदै यस्तो धारणा राखेका हुन् ।




प्रतिकृया