• २६ असार २०८३, शुक्रबार
  • ११:४५ बेलुका

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०७:४२

२६ असार २०८३ काठमाडौं –  बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब खाता बन्द गर्न सम्बन्धित शाखा कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले ग्राहकलाई मोबाइल वा वेब एप्लिकेसनमार्फत नै बैंक खाता बन्द गर्न सकिने व्यवस्था गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

निष्क्रिय खाता घटाउने उद्देश्यसहित केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना तयार गरी आगामी पुस महिनाभित्र लागू गर्न निर्देशन दिएको छ।

Kamana Sewa

राष्ट्र बैंकका अनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायत माध्यमबाट नियमित जानकारी गराउनुपर्नेछ। त्यस्तै, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

Classic Tech Desktop

नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपालभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा खाता बन्द गर्न सक्नेछन्। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम आफूले तोकेको अर्को बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था पनि गरिएको छ।

राष्ट्र बैंकले ग्राहकको पहिचान गरी देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न विशेष प्रणाली विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने अवैध रकम कारोबारबारे जनचेतना फैलाउन तथा वित्तीय अपराध रोकथामका लागि नियमित रूपमा जनचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रतिकृया