• ९ भदौ २०८३, बुधबार
  • ७:३७ बेलुका

रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०७:२७

१० भदौ २०८३ काठमाडौं – रसुवामा तिब्बतबाट आएको आकस्मिक बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन्। भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका बैंकका शाखामा कार्यरत कर्मचारीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार बाढीका कारण विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग हालसम्म सम्पर्क हुन सकेको छैन। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए।

Kamana Sewa

बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको शर्माले जानकारी दिए। बाढीबाट कुल ९ वटा बैंक शाखामा क्षति पुगेको भए पनि सम्पर्कविहीन कर्मचारी भने ८ शाखाका रहेका छन्। फोन तथा इन्टरनेटका टावरसमेत क्षतिग्रस्त भएकाले कर्मचारीसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको बैंकर्स एसोसिएसनले जनाएको छ।

Classic Tech Mobile

शर्माका अनुसार अहिले बैंकहरूको पहिलो प्राथमिकता कर्मचारीहरूको सुरक्षा र उनीहरूको अवस्थाबारे जानकारी लिनु हो। कर्मचारीहरूको अवस्था यकिन भएपछि मात्रै शाखा तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ।

बाढी प्रभावित क्षेत्रमा तत्काल पुग्नसमेत कठिन अवस्था रहेको उनले बताए। यता, सोही क्षेत्रमा रहेका विकास बैंकका शाखामा भने हालसम्म कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ।

प्रतिकृया