रसुवा बाढीले विद्युत् गृह र प्रसारण संरचनामा ठूलो क्षति, आपूर्ति प्रभावित
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार १२:२३
१० भदौ २०८३ काठमाडौं – रसुवामा आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न विद्युत् गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।

विद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो। प्राधिकरणले आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ।

विद्युत् आपूर्ति नियमित नहुँदासम्म धैर्य गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गरिएको छ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत अनुरोध गरिएको छ।




प्रतिकृया