भोटेकोसीको बाढी गल्छी आइपुग्यो
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार १०:४४
१० भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बिहान १०:२८ बजे जारी गरेको अपडेटअनुसार भोटेकोसीको बाढी धादिङको गल्छी आसपास पुगेको छ। उक्त बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने महाशाखाले जनाएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्ड आसपासका त्रिशूली नदी छेउछाउका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। साथै, त्रिशूली नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।

भोटेकोसीमा आएको बाढी त्रिशूली हुँदै तलतर्फ बढिरहेका कारण धादिङ, चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दा थप जोखिममा पर्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले सतर्कता बढाएका छन्।




प्रतिकृया