बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्यायो : सीडीओ
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार ११:१३
१० भदौ २०८३ काठमाडौं – रसुवाको सीमा क्षेत्रबाट आएको भीषण बाढीले नुवाकोटका विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्याएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवाको सीमाबाटै बाढीले क्षति पुर्याउन थालेको हो। बाढी तटीय क्षेत्रका बजारभित्रै पसेपछि विभिन्न भौतिक संरचनामा ठूलो नोक्सानी भएको उनले बताएका छन्।
प्रशासनका अनुसार बाढीले नुवाकोटका बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटलगायत मुख्य बजार क्षेत्रमा क्षति पुर्याएको छ। सुरक्षाकर्मीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार केही संरचना भत्किएका छन् भने क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ।

सीडीओ रेग्मीले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्। यद्यपि, भौतिक क्षति ठूलो रहेको प्रारम्भिक अनुमान गरिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल पुगेर क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। सुरक्षाकर्मीले घटनास्थलबाट निरन्तर रिपोर्ट पठाइरहेका छन्।

त्रिशूली र बेत्रावती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा जोखिम बढे सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।




प्रतिकृया