रसुवा बाढीको वितण्डा : ९ बैंक शाखामा क्षति, धेरै कर्मचारी सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार १२:४२
१० भदौ २०८३ काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका नौवटा शाखा कार्यालय प्रत्यक्ष प्रभावित भएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीले अधिकांश बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रारम्भिक जानकारी आएको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका नौवटै शाखामा क्षति पुगेको अनुमान गरिए पनि प्रभावित क्षेत्रमा सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको अध्यक्ष कोइरालाले बताए।

उनका अनुसार ती शाखामा कार्यरत आधाभन्दा बढी कर्मचारीसमेत अझै सम्पर्कमा आएका छैनन्। केही कर्मचारीले भने आफूहरू सुरक्षित रहेको तर कार्यालय नरहेको जानकारी गराएका छन्। रसुवाका प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंकलगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा थिए।

क्षतिग्रस्त शाखाहरूको यकिन विवरण संकलन गर्ने प्रयास भइरहेको संघले जनाएको छ। बैंकर्स संघले सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको खोज तथा उद्धारलाई तीव्रता दिन आग्रह गरेको छ।




प्रतिकृया