कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ०४:१९
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रिय सभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि सभामुखको निर्देशनमा बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको उल्लेख गरिएको छ।

आजको बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ संसद्मा पेस गर्ने कार्यसूची रहेको थियो।

यस्तै, प्रधानमन्त्रीको तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक संसद्मा पेस गर्ने कार्यसूची पनि तय गरिएको थियो।
मन्त्री गौतम राष्ट्रिय सभामा प्रतिस्थापन विधेयकमाथिको छलफलमा सहभागी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित भएको जनाइएको छ।




प्रतिकृया