मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्द कार्की मुख्यसचिव नियुक्त
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ०५:४८
२४ असार २०८३ काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका आठवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मिता पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रशासन, शिक्षा, स्वास्थ्य र सुशासनसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत भएको जानकारी दिइन्।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै, काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्ले गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। त्यस्तै, शिक्षा क्षेत्र सुधारका लागि विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिइन्।

बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) पनि स्वीकृत गरेको छ। सरकारका अनुसार यी निर्णयहरू प्रशासनिक सुधार, शिक्षा क्षेत्रको नियमन, स्वास्थ्य सेवा विस्तार तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।




प्रतिकृया