एमाले सांसद राई–सभामुख विवादपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ११:५९
२४ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारलाई बोल्न समय दिए। गच्छदारपछि बोल्ने क्रममा एमाले सांसद राईले ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्दै प्रश्न गरेका थिए।
त्यसपछि सभामुख अर्यालले राईलाई रोक्दै मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए। सभामुखले ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ’ भन्दै चेतावनी दिएपछि पनि विवाद रोकिएन। राईलाई बोल्न नदिई सभामुखले एमालेकै सांसद परशुराम तामाङलाई समय दिए, जसको विरोधमा एमाले सांसदहरू उठेका थिए।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै सभामुखको मानमर्दन हुने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरिन्। उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराउँदै सभामुखको आचरणमाथि यसरी टिप्पणी गर्न नमिल्ने बताइन्।

पछि सभामुखले आत्मालोचना गर्ने भन्दै राईलाई पुनः बोल्न समय दिएका थिए। तर राईले ‘यस्तो पाराले तपाईंले पाँच वर्ष संसद् चलाउन सक्नुहुन्न’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।




प्रतिकृया