• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

काठमाडौं उपत्यकामा अतिक्रमण हटाउने अभियान: १,२७२ घरटहरा भत्काइयो

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार ०९:२४

१४ बैशाख २०८३ काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका १ हजार २७२ घरटहरा भत्काइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको समन्वयमा शनिबार र आइतबार थापाथली, गैरीगाउँ–बानेश्वर, जडिबुटी तथा मनोहरा क्षेत्रमा अवैधरूपमा बनाइएका संरचना हटाइएको हो।

प्रहरीका अनुसार ती चार क्षेत्रमा कुल १ हजार ६५० घरटहरा रहेकामा अधिकांश हटाइसकिएको छ। गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अझै १५ वटा पक्की घर र मनोहरा वस्तीमा ३६५ घरटहरा हटाउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

Kamana Sewa

शनिबार थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी बनाइएका १४३ घरटहरा भत्काइएका थिए। त्यस क्रममा घरबारविहीन बनेका ३४ परिवारका ११५ जनालाई महानगरपालिकाको सहयोगमा कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा अस्थायी रूपमा राखिएको छ।

Classic Tech Desktop

गैरीगाउँ–बानेश्वर क्षेत्रमा रहेका ५७८ मध्ये ५६० घरटहरा शनिबार नै हटाइएको थियो भने आइतबार थप पाँच वटा भत्काइएको छ। सो क्षेत्रमा अझै केही पक्की संरचना हटाउन बाँकी रहेको छ।

आइतबार जडिबुटी र मनोहरा क्षेत्रमा पनि अभियान जारी राखिएको थियो। जडिबुटीतर्फ ११४ घरटहरा भत्काइएको छ भने त्यहाँ बसोबास गर्दै आएका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको छ। भक्तपुरतर्फको मनोहरा वस्तीमा ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा हटाइएको प्रहरीले जनाएको छ।

मनोहरा नदी किनारमा सात वटा डोजर प्रयोग गरी संरचना भत्काउने काम सुरु गरिएको थियो। तर वर्षाका कारण काम स्थगित गरिएको र बाँकी संरचना सोमबार हटाउने तयारी गरिएको छ।

सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको जनाएको छ। सहारा नभएका नागरिकका लागि अस्थायी रूपमा होटल तथा लजमा बस्ने र खाने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालका अनुसार पहिलो चरणमा जोखिमयुक्त बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी दीर्घकालीन बसोबासको व्यवस्था गरिनेछ।

प्रतिकृया