• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क नलिन मन्त्रालयको निर्देशन

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०४:१६

२४ चैत,२०८२ काठमाडौं – शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क नलिन देशभरका विद्यालयलाई निर्देशन दिएको छ। साथै, शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न पनि स्पष्ट निर्देशन जारी गरिएको छ।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउँदै देशभरका ७५३ वटै स्थानीय तहलाई उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन र अनुगमन गर्न अनुरोध गरिएको छ। केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिने, अग्रिम शुल्क असुल गर्ने तथा स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

Kamana Sewa

मन्त्रालयले शिक्षा नियमावली २०५९को परिच्छेद १५ उल्लेख गर्दै शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ। साथै, भर्ना भइसकेपछि मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै केही विद्यालयले अग्रिम र अतिरिक्त शुल्क असुलेको पाइएको पनि पत्रमा उल्लेख छ।

Classic Tech Desktop

यसैबीच, सर्वोच्च अदालतको फैसला आधार मान्दै नियमविपरीत लिइएको अग्रिम शुल्क तत्काल अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको छ। निर्देशन उल्लंघन गर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न स्थानीय तहलाई अधिकार दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया