ढकालले नयाँ सरकारले ल्याओस् स्थायी र निजी क्षेत्रमैत्री नीति माग
प्रकाशित मिति
२०८२ फाल्गुन २८ गते, बिहीबार १२:४३
२८ फाल्गुन,२०८२ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्।
ढकालका अनुसार स्थिर सरकारले दीर्घकालीन नीति निर्माणमार्फत आर्थिक गतिविधि बढाउन सक्छ। हाल करिब दुईतिहाइ बहुमतसहितको सरकार बन्न लागेको भन्दै उनले निजी क्षेत्रसँग सम्बन्धित विषय रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को वाचापत्रमा समावेश भएको स्मरण गराए।

उनले भने, “रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिबद्धता व्यक्त गरेको छ, ती प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ। प्रभावकारी रूपमा लागु भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ।”

ढकालले आगामी दिनमा नीतिहरू स्थायी र लगानीमैत्री हुनुपर्नेमा जोड दिए। उनले बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीति अबको सरकारले लिनुपर्ने बताए।
अध्यक्ष ढकालका अनुसार कतिपय भूतपूर्व प्रभावशाली कानुनहरू लगानीकर्तामा निराशा सिर्जना गरिरहेका छन्। “त्यस्ता कानुन लागु नहुने सुनिश्चितता राज्यले गर्नुपर्छ। यसले मुलुकमा छिट्टै आर्थिक गतिविधि बढाउनेछ र आन्तरिक रोजगारी सिर्जना गर्न सहयोग पुग्नेछ,” उनले भने।
ढकालले आर्थिक गतिविधि विस्तारसँगै राजस्व संकलन बढ्ने र त्यसबाट पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।




प्रतिकृया