आज फागु पूर्णिमा : पहाडी जिल्लामा आज, तराईमा भोलि होली मनाइँदै
प्रकाशित मिति
२०८२ फाल्गुन १८ गते, सोमबार ०७:१८
१८ फाल्गुन,२०८२ काठमाडौं – आज फागुन पूर्णिमा अर्थात् होली (फागु) पर्व देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । तराईका जिल्लामा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा अनुसार भोलि होली खेलिनेछ ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने होलीलाई पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा लिने गरिन्छ । एक–आपसमा रङ, अबीर लगाएर आपसी सद्भाव साटासाट गर्दै यो पर्व मनाउने चलन छ ।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्र मा फागुन शुक्ल अष्टमीका दिन गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर गाडिएको ‘चीर’ लाई आज विधिपूर्वक ढालिन्छ । बाजागाजासहित उक्त चीरलाई टुँडिखेल लगेर जलाउने परम्परा रहेको छ ।

चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ सर्वसाधारणले लुछाचुँडी गरी लिने चलन छ । साथै चीरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने धार्मिक विश्वास पनि छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने परम्परा समेत रहेको छ ।
होली पर्व त्रेता युगमा दैत्यराज हिरण्यकश्यपु ले विष्णुभक्त आफ्ना पुत्र प्रह्लाद लाई मार्न खोज्दा उनकी बहिनी होलिका आगोमा भष्म भएको तर प्रह्लादलाई आगोले नछुने कथासँग जोडिएको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि सत्यको विजय भएको स्मरणमा होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ ।
त्यसैगरी द्वापर युगमा श्रीकृष्ण लाई मार्न पठाइएकी राक्षसनी पुतना को वधपश्चात् व्रजवासीले उत्सव मनाएको प्रसंग पनि फागु पर्वसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
राम्रो तरिकाले तयार गरिएका रङ र अबिरले छालाका केही रोग निवारण गर्ने तथा शीतकालमा शरीरमा उत्पन्न कफको विनाश गर्ने विश्वास छ । बालिएको चीरको धुवाँले शीतकालीन रोगका कीटाणु नष्ट हुने जनविश्वास रहिआएको छ । यस आधारमा होली पर्वको आयुर्वेदिक महत्व पनि रहेको बताइन्छ ।
फागु पर्वका अवसरमा सरकारले परम्परादेखि नै सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने चलन रहिआएको छ ।




प्रतिकृया