२६३औं सेना दिवस आज, देशभर विविध कार्यक्रम
प्रकाशित मिति
२०८२ फाल्गुन ३ गते, आईतवार ०८:५८
३ फाल्गुन, २०८२ काठमाडौं – नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर २६३औं सेना दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाउँदैछ। दिवसका अवसरमा मुख्य समारोह काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँदैछ। समारोहमा रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। टुँडिखेलमा बढाइँ कवाज, परेड, शस्त्राभ्यास, तोप सलामी तथा सांस्कृतिक प्रस्तुति गरिनेछ। सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी तथा युनिटहरूले आ–आफ्नो क्षेत्रमा विशेष कार्यक्रम गर्दै सेना दिवस मनाउने जनाइएको छ।
कार्यक्रममा राइफल र तोप बढाइँ कवाज, मार्चपास्ट, बख्तरबन्द गाडी, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित पुष्पवृष्टि, सेना दिवस–२०८२ लेखिएको ब्यानर प्रदर्शन गरिनेछ। साथै त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटहरूको सहभागिता रहनेछ। फ्रि–फल जम्प र खुकुरी ड्रिल पनि आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।

नेपाली सेनाले करिब दुई दशकदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। राष्ट्रिय एकता, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण र निकुञ्ज संरक्षणमा सेनाको भूमिका महत्वपूर्ण मानिन्छ।

त्यस्तै, संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेनाले सन् १९५८ देखि निरन्तर योगदान दिँदै आएको छ, जसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदै आएको छ।




प्रतिकृया