कित्ताकाट खुल्दा मङ्सिरमा घरजग्गा कारोबारमा उछाल,कति उठ्यो राजस्व ?
प्रकाशित मिति
२०८२ पुष ४ गते, शुक्रबार १२:३६
४ पुस,२०८२ काठमाडौं— कित्ताकाट खुला भएसँगै मङ्सिर महिनामा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
विभागको तथ्याङ्कअनुसार मङ्सिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा किनबेच भएका छन्। यसअघि साउनमा ३ अर्ब २८ करोड ९१ लाख र कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। साउनपछि निरन्तर ओरालो लागेको कारोबार मङ्सिरमा भने उकालो लागेको देखिएको हो। पछिल्ला पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

सरकारले गत कात्तिक २४ गते भू–उपयोग नियमावली संशोधन गरेपछि कित्ताकाट खुला भएको थियो। स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा ५०० भन्दा बढी पालिकामा रोकिएको कित्ताकाट खुल्दा मङ्सिरमा मात्रै ५५ हजारभन्दा बढी नयाँ कित्ताकाट भएका छन्।

व्यवसायीहरूका अनुसार पुसदेखि नगद कारोबारमा कडाइ, मङ्सिरलाई परम्परागत ‘सिजन’ मानिनु र अन्य क्षेत्रमा लगानीको अवसर नहुनुका कारण पनि घरजग्गा कारोबार बढेको हो। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले कित्ताकाट खुलेसँगै बजार चलायमान भएको भन्दै बैंकिङ नीति सहज भए कारोबार अझै दोब्बर हुने दाबी गरेका छन्।
विभागका अनुसार कारोबार काठमाडौँ उपत्यकाबाहिर तराईका जिल्लाहरूमा पनि उल्लेख्य रूपमा बढेको छ।




प्रतिकृया