• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ नाघ्यो

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ०७:०६

कात्तिक १३, २०८२ काठमाडौं— नेपालको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा आश्विन मसान्तसम्म ५० अर्ब ६० करोड रुपैयाँले वृद्धि भई हाल कुल दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो।

National Life

यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर हुन्छ। कार्यालयका अनुसार, कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा आश्विन मसान्तसम्म १ खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त भएको छ।

यो वार्षिक लक्ष्यको १६.९३ प्रतिशत प्रगति हो। प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा आश्विन मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भएको छ। यो रकम वार्षिक बजेट विनियोजनको २६.७४ प्रतिशत बराबर र कुल गार्हस्थ्य उत्पादनको १.८० प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।

प्रतिकृया