राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार १०:३७
२० असोज २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही तथा भुक्तानीसम्बन्धी विभिन्न व्यवस्थामा संशोधन गर्दै सीमा बढाएको छ। संशोधित व्यवस्थाअनुसार विदेशमा उपचार गराउने नेपाली नागरिकले अब वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।
त्यस्तै, सेवा आयातका लागि प्रतिपटक ३० हजार डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था गरिएको छ। भारतसँगको कारोबारमा पनि प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिने सीमा तोकिएको छ।
नेपाली वायुसेवा कम्पनीले जहाजका इन्जिन तथा पार्टपुर्जा विदेशमा मर्मतका लागि पठाउँदा ५ लाख डलरसम्म अग्रिम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १ लाख डलर थियो। निर्यातबाट प्राप्त रकमबाट तेस्रो मुलुकमा आयात गर्दा प्रतिपटक ३० हजार अमेरिकी डलरसम्म र भारतमा ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताले विदेशमा वस्तु तथा सेवा खरिदका लागि वार्षिक अधिकतम १० हजार अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सूचना प्रविधि, कृषि, उत्पादन, पूर्वाधार, पर्यटन तथा ऊर्जा क्षेत्रमा विदेशी ऋण भित्र्याउने नेपाली कम्पनीका लागि विदेशी मुद्रामा बैंक ग्यारेन्टी तथा स्ट्यान्डबाइ लेटर अफ क्रेडिट जारी गर्न सक्ने व्यवस्थासमेत गरेको छ।








प्रतिकृया