३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०९:०९
२० असोज २०८३ पोखरा — प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ। संसद् सचिवालयका अनुसार बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सदस्यहरूलाई वितरण गरिनेछ।
यस्तै, प्रस्तावित राजदूतहरूले समितिमा पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची रहेको छ। सरकारले सिफारिस गरेका १३ प्रस्तावित राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेको छ। तीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतलाई लक्षित गरेर परेको छ भने बाँकी ५ वटा उजुरी एक–एक जना प्रस्तावित राजदूतलाई तोकेर दर्ता भएका छन्।
गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरेको छ।
त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिसमा परेका छन्।








प्रतिकृया