• २० असोज २०८३, मंगलबार
  • १०ः४१ बिहान

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार १०:०३

२० असोज २०८३ पोखरा — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो।

National Life

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्काशित सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन असोज २९ गतेदेखि खुला हुनेछ। निष्काशन छिटोमा कात्तिक १० गते बन्द हुनेछ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक १२ गतेसम्म निष्काशन खुला रहने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ।

बैंकका अनुसार ऋणपत्रबाट प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

प्रतिकृया