सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०९:३१
२० असोज २०८३ पोखरा — सरकारले थप १४ वटा विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन रहेकामा थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी प्रक्रिया अघि बढाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनमा पारित भएका १२ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा छ।
हाल संघीय संसद्मा विचाराधीन ३६ विधेयकमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलका क्रममा छन्। एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने बाँकी विधेयक सम्बन्धित सदनमै रहेका छन्।
सरकारले संसद्मा दर्ता गर्न लागेको १४ विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन्।
त्यस्तै, कम्पनी ऐन संशोधन विधेयक, विभिन्न पाँचवटा संहिता संशोधन विधेयक तथा औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक पनि संसद्मा लैजाने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जासम्बन्धी विधेयक तथा जलस्रोतसँग सम्बन्धित ऐन संशोधन विधेयकको प्रक्रिया अघि बढाएको छ।
यसैगरी, पूर्वाधार न्यायाधिकरणसँग सम्बन्धित विधेयक, कृषिसम्बन्धी विधेयक र पशु बधशालासँग सम्बन्धित विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।
कुन विधेयक कुन चरणमा पुगेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ट्र्याक गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार थप १४ वटा विधेयक छिट्टै संसद्मा दर्ता हुनेछन्।








प्रतिकृया